गर्मी बढेपछि जनजीवन प्रभावित

 बैशाख ०४, २०७९

तुलसीपुर । अत्यधिक गर्मीका कारण सर्लाहीसहित तराईका जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ । लगातार चर्को घाम लागेर तातो हावा चल्दा तराई मधेसका बासिन्दाले अत्यधिक गर्मी महसुस गरेका छन् । तराई क्षेत्रको अधिकतम तापक्रम पनि दिनहुँ बढिरहेको छ ।

शुक्रबार मध्यान्ह सर्लाहीको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको छ । बिहान र साँझको समयबाहेक दिनभर चर्को घाम लागेर तातो हावा बहँदा मानिसलाई घरबाहिर निस्कन समस्या पर्न थालेको छ । जिल्लाको लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलङ्गवाजस्ता बजारमा मानिसको चहलपहल निकै घटेको छ ।

उखरमाउलो गर्मीमा कुहिरीमण्डल भएर धुलो उड्दा जिल्लाको ग्रामीण भेगका नागरिक झनै बढी प्रभावित भएका छन् । बढ्दो गर्मीले स्वास्थ्य संस्थामा गर्मीजन्य रोगका बिरामी बढेका छन् ।सदरमुकाम मलङ्गवा निवासी डा. गुणेश्वर झाले स्वास्थ्यमा गम्भीर असर पर्ने गरी तातो हावा चलेर अत्यधिक गर्मी भइरहेका कारण अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । उनले प्रदुषण निकै बढेकाले बालबालिका र वृद्धवृद्धाको अझ बढी ख्याल गर्न आग्रह गरे । गोरखापत्र दैनिकमा खबर छ ।

तपाईंको प्रतिक्रिया