निर्वाचनको दिन सवारी साधनका लागि अनुमति लिन वैशाख २८ गतेसम्म निवेदन दिइसक्न अनुरोध

 बैशाख २४, २०७९


काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सवारी साधनका लागि अनुमति लिन वैशाख २८ गतेसम्म निवेदन दिइसक्न अनुरोध गरेको छ । आसन्न स्थानीय तह निर्वाचनको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गरेको आयोगले निर्वाचनको दिनमा सवारी साधानका लागि अनुमति लिनका लागि बुधवारसम्म निवेदन दिइसक्न भनेको हो । मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिए बमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।

यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी सोही निवेदनमा सिफारिस गर्नुपर्ने उल्लेख छ । उम्मेदवार बाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुसूची २ बमोजिम सिफारिस दिने अधिकारीको सिफारिस लिई अनुसूची बमोजिम सवारी साधनको अनुमतिपत्र जारी गर्ने निकाय वा अधिकारी समक्ष पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया