२३ वेब पोर्टललाई नेपालमा सञ्चालनमै रोक

 बैशाख २५, २०७९


काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ५ दिन मात्रै बाकि रहेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन आचारसंहिता उलङ्घनका घटनाहरु पनि बढिरहेका छन् । निर्वाचन आचारसहिंता उलङ्घन गर्नेहरुमा राजनितिक दल वा कार्यकर्ताहरू मात्रै छैेनन् । सञ्चार माध्यमहरुले पनि निर्वाचन आचारसहिंता उलङ्घन गरिरहेका छन् । जसमा बढि अनलाईन मिडियाहरू रहेको निर्वाचन आयोगले जनाएकोृ छ । आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरूले आचारसंहिताको गम्भिर उल्लङ्घन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लङ्घन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले बताएको छ । आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई गम्भीर बन्न निर्देशन दिइएको छ । ८ वटा मिडियालाई लिखितरुपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार माध्यमलाई लिखितरुपमा आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।

तपाईंको प्रतिक्रिया