कानून दिवसको अवसरमा मेट्राे कलेजकाे अन्तरक्रिया

 बैशाख २६, २०७९

दाङ । दाङको तुलसीपुरमा रहेको तुलसीपुर मेट्रो कलेज बिएएलएलबीमा अध्ययनरत विद्यार्थीहरुले कानून दिवसको अवसर अन्तरक्रिया गरेका छन् । कानुन दिवसको सार्थकता विषयक अन्तक्र्रियामा प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दिक्षितले मानव अधिकार र सामाजिक न्यायको प्रस्थान विन्दु कानुन भएको बताउनुभयो ।

उहाँले कानुनको दृष्टिले सबै समान हुने बताउँदै कानुनको पालना सबैले अनिवार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो । दिक्षितले संविधानको सर्वोच्चतामा कानुन भन्दा अगाडि केही पनि हुन नसक्ने कुरामा जोड दिनुभयो ।

एकाध व्यक्तिले गलत काम गर्दैमा सम्पूर्ण न्यायालयमा नै भ्रष्टाचार छ भन्नु तथ्यपरक कुरा नभएको उहाँको कथन थियो । “एकाध व्यक्तिको आचरणलाई लिएर समग्र न्यायालयमाथि गलत ढँगले प्रश्न गर्नु उचित होईन,” मुख्य न्यायाधिश दिक्षितले भन्निुभयो। उच्च अदालत तुलसीपुरले नेपालमै सबैभन्दा छिटो मुद्दाको छिनोफानो गरेको पनि उनको दाबी थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमै कानूनको अध्यापन सहजताका लाागि आफुले कलेज सञ्चालनको पहल गरेको बताउनुभयो । कानून सर्वव्यापी विषय भएको हुँदा सबै कुरामा यसको महत्व भएकोमा पनि उहाँको जोड थियो ।

कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर बार एसोसियसनका अध्यक्ष पुष्कर भण्डारीले अदालतमा पनि विभिन्न कमजोरी हुने गरेको बताउँदै बारले त्यसलाई सुधार्दै लगेको बताउनुभयो । कानून दिवसको सार्थकता कानूनको परिपालनाबाट मात्रै सम्भव हुने उहाँको भनाई छ ।

विद्यार्थी निराजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, विद्यार्थी तिर्सना रोकाया र सुमिक्षा आचार्यले कानुनको महत्वका बारेमा बताउनुभएको थियो भने कार्यक्रमको सहजिकरण विद्यार्थी प्रकाश वलीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया