आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्ने

 जेठ १४, २०७९

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरायो ।

गुजरातले भने राजस्थानलाई पहिलो क्वालिफायरमा ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो सिजनमै च्याम्पियन बन्न चाहन्छ । राजस्थान भने २००८ पछि पहिलो उपाधि जित्ने सोचमा हुनेछ ।

फाइनल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । यस सिजनमा राजस्थान र गुजरातबीच दुई खेल भएका छन् । दुबै खेलमा गुजरात विजयी भएको छ । लिगको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो ।

पहिलो क्वालिफायरमा अन्तिम ६ बलमा १६ रन चाहिँएको अवस्थामा डेविड मिलरले प्रसिद्ध कृष्णलाई लगातार तीन छक्का प्रहार गर्दै फाइनलमा पुर्याए । गुजरात राजस्थानमाथि लगातार तेस्रो जितका साथ च्याम्पियन बन्न चाहन्छ । राजस्थान त्यसको बदला फाइनलमा लिन खोज्नेछ ।

राजस्थानका जस बटलर, युजभेन्द्र चहल, सञ्जु स्यामसन, ट्रेन्ट बोल्ट जस्ता म्याच विनर खेलाडी छन् । बटलरले यस सिजनमा चार शतकसहित ८ सय २४ रन बनाई सकेका छन् । चहलले २६ विकेट लिई सकेका छन् । गुजरातमा हार्दिक पान्ड्या, डेविड मिलर, राशिद खान, राहुल टेवाटिया र मोहम्मद शामी जस्ता खेलाडी छन् ।

तपाईंको प्रतिक्रिया