बङ्गलादेशमा आगलागी : ज्यान गुमाउनेको संख्या २५ पुग्यो

 जेठ २२, २०७९

बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको सङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।

चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सीताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् ।

चटगाउँ जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच नियन्त्रकसहित २५ जनाको मृत्यु भएको बताएका हुन् । आगो अझै पूर्णरुपमा नियन्त्रणमा नआएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताएका छन् ।

आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसहरूले आगो निभाउने प्रयास गरिरहेको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ । सो आगलागीमा परी ४० अग्नि नियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते छन् । अधिकारीहरूले आइतबार बिहानसम्म उद्धारको काम जारी रहेको जानकारी दिएका छन् ।

यहाँका दर्जनौँ अग्नि नियन्त्रक समूहलाई आगो निभाउन लगाइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए । चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पनि बताएका छन् ।

तपाईंको प्रतिक्रिया