भारतमा कोरोनाबाट थप १२ हजार सङ्क्रमित

 असार ०३, २०७९

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराति अर्थात गत २४ घण्टाको समयावधिमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा बुधबार र बिहीबार दुई दिन लगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । गत बिहीबार भारतमा बाह्र हजार २१३ कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ ।

यसमध्ये ६३ हजार ६३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१५ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ९८५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ८२ हजार ६९७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६४ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिक्रिया