भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित

 असार ०७, २०७९

भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित भएको छ । आसाममा कम्तीमा ३४ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ । गाउँहरू डुबानमा परेका छन् ।

घरहरु भत्किएका छन् । त्यहाँका ४२ लाखभन्दा धेरै नागरिक विस्थापित भएका बीबीसी हिन्दीले जनाएको छ । भीषण वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ । आसाममा सरकारले विस्थापितका लागि १ हजार १ सय ४७ वटा राहत शिविर खोलेको छ । तर निरन्तरको वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको प्रभावित क्षेत्रका उद्धार अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो वर्ष आसाममा भीषण बाढी आएको यो दोस्रो पटक हो । गएको मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान गएको थियो । आसाम राज्यमा यो महिना औसतभन्दा १ सय ९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ ।

त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ । आसामको मुख्य आर्थिक केन्द्र गुवाहाटी नजिकका क्षेत्रहरु पनि भग्नावशेषमा परिणत भएका छन् ।

तपाईंको प्रतिक्रिया