हिमालयन हाइड्रोपावरले सर्वसाधारणको लागि आइपिओ जारी गर्दै

 असार ०७, २०७९


आगामी असार १५ गतेदेखि हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आइपिओ खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको लागि प्रतिसेयर एक सय रुपैयाँमा १९ लाख ६८ हजार २५० कित्ता सेयर निष्काशन गर्ने भएको हो।

इच्छुक आवेदकहरूले असार १५ गतेदेखि असार १९ गतेसम्म आइपिओ भर्न सक्नेछन्। माग बमोजिमको आवेदन नपरेमा भने ढिलोमा असार २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ।

जारी गरिएको सेयर कित्तामध्ये कम्पनीले २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात‍् ९८ हजार ४१३ कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ। यीबाहेक बाँकी १८ लाख ३० हजार ४७२ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो।

आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ पुग्ने बताइएको छ। आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन मिल्छ

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हिमालयन हाइड्रोपावरलाई इक्रा नेपालले बि प्लस रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ

यसभन्दा अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ निष्कासन गरेको थियो। कास्कीको मादी गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि कम्पनीले ९ लाख कित्ता सेयर आइपिओ खुला गरेको थियो। कम्पनीले हाल कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ।

तपाईंको प्रतिक्रिया