मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

 असार १०, २०७९

रुपन्देही । रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो । प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खड्काले जानकारी दिए ।

विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादीक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ ।

गएको चैत ३० गते राति अमृताको शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाई नभएपछि माइती पक्षले लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको शव उठाउन मानेका थिएनन् ।

उनीहरुले अमृताको मृत्युमा श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनको हात रहेको भन्दै उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए । अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको थियो ।

तपाईंको प्रतिक्रिया