तुलसीपुरको स्थानीय पाठ्यक्रममा के छ ?

 साउन १९, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । पाठ्क्रम कक्षा पाँच र आठ बाहेक अन्य कक्षामा यसैवर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ । स्थानीय पाठ्यक्रम कक्षा एक देखि आठसम्मका लागि तयार पारिएको होे । पाठ्यक्रम निर्माण कार्य २०७८ पौष महिनादेखि सुरु गरिएको थियो । पाठ्यक्रममा कक्षा एकदेखि पाँचसम्म तुलसीपुरको परिचय,स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा,पेसा,व्यवसाय र प्रविधि,मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य,दुर्घटना र विपद् व्यवस्थापन शीर्षकमा तयार पारिएको छ ।

कक्षा ६,७ र ८ का यी विषयवस्तु सहित व्यवहारिक लेखनलाई समेत समेटिएको छ । ठ्यक्रमभित्र सामाजिक,आर्थिक,धार्मिक,पर्यावरणीय विषय वस्तुहरुलाई समेटिएको छ । यसैबीच, स्थानीय पाठ्यक्रमको बिहिवार सार्वजनिक गरिएको छ ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवं नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख खड्काले तत्कालै विद्यालयमा पाठ्यक्रम पु¥याइने बताउनुभयो । उहाँले पाठ्यपुस्तकका रुपमा तयार पार्ने कामलाई समेत तीव्रता दिइने बताउनुभयो । उहाँले तुलसीपुर क्षेत्रको शिक्षाको अवस्थालाई माथि उठाउनका लागि सामुदायिक र संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरी,वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरी,सामुदायिक विद्यालयका तर्फबाट नारायण भण्डारी, लेवेन्द्र केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । पाठ्यक्रम निर्माण तथा लेखन समितिको संयोजक शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारी,सदस्यहरुमा झरेन्द्र खरेल,नारायण प्रसाद भण्डारी, खगेन्द्रप्रसाद काफ्ले, दिनेश डाँगी,झक्कुप्रसाद केसी, लेबेन्द्र केसी,मधुसुदन गौतम,सुनिता यादव,मदनकृष्ण देवकोटा,ज्ञानबहादुर डाँगी र सदस्य सचिवमा मनबहादुर खड्का रहनुभएको थियो् ।

कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख चक्रबहादुर भण्डारीले व्यक्त गर्नुभएको थियो भने सञ्चालन पाठ्यक्रम निर्माण तथा लेखन समितिका सदस्य सचिव मनबहादुर खड्काले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया