निहारिका राजपुत प्रहरीको नियन्त्रणमा

 साउन २२, २०७९

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उनले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलातकार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

तपाईंको प्रतिक्रिया