शैक्षिक सुधारका लागी १९ नम्बर वडाले थाल्यो प्रयास

 साउन २६, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि वडाबाटै प्रयास सुरु गरेको छ । सामुदायिक विद्यालयहरुमा पछिल्लो समयमा नतिजा,गुणस्तर,विद्यार्थीहरुको शैक्षिक अवस्था कमजोर बन्दै गएपछि पहिलो चरणमा शिक्षक,अभिभावक,सरोकारवाला निकायहरुसंग छलफल गरेको छ । वडाभित्र माध्यमिक तहका दुई वटा र प्रावि तहका दुई वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

वडा कार्यालयले विहिवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ माध्यमिक विद्यालय भित्री सक्राममा शैक्षिक अवस्था सुधारका लागि छलफल कार्यक्रम आयोजना गरेको हो ।वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि पहिचो चरणमा शिक्षक जिम्मेवारी र विद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि खट्नुपर्ने बताउनुभयो । उहाँले शिक्षकका साथै पछिल्लो समयमा अभिभावकहरु समेत जिम्मेवारीबाट पन्छिएका कारण सुधारमा समस्या आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले शिक्षा सुधार नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले पूर्वाधारका अन्य कार्यलाई यथावत् राख्दै शिक्षा सुधारका कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै शैक्षिक सुधारका लागि विद्यालय तहमा सम्पूर्ण कार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख स्यानी चौधरीले शैक्षिक सुधारका लागि समय व्यवस्थापन महत्वपूर्ण हुने भएकाले शिक्षकहरु विद्यालय समयभित्रै पुग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक सबैभन्दा बढी जिम्मेवार र अभिभावकहरुले विद्यालयलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतले शैक्षिक अवस्था सुधारका लागि विद्यालयको नेतृत्वको विशेष भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले विद्यालयको शैक्षिक व्यवस्थापनमा विशेष महत्वपूर्ण राख्ने विद्यालय व्यवस्थापन समितिमा राजनीतिकरणकै कारण बिलम्ब भएकै कारण विद्यालयले विभिन्न तहबाट प्राप्त गर्ने सेवा सुविधामा समेत कमी भइरहेकाले विद्यालयलाई सबैबाट सकारात्मक सहयोग रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका तुलसीपुर नगर अध्यक्ष हुमराज डाँगी, मावि भित्री सक्रामका प्रधानाध्यापक सूर्यबहादुर बस्नेत, नवजागरण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल खड्का,गणेश प्रावि तिनुखोलाका प्रधानाध्यापक प्रेमबहादुर वली, मालिका प्राथमिक विद्यालयका मालिका रोका, नेकपा एमाले वडा नम्बर १९ वडा कमिटि अध्यक्ष लोकबहादुर रोका, नेपाली काग्रेस वडा नम्बर १९ वडा सभापति पदम वली, नेकपा माओवादी केन्द्र वडा नम्बर १९का अध्यक्ष दुर्गा विश्वकर्मा, नेकपा माओवादी वैद्यका नन्दराम रोका,नेकपा माओवादी विप्लव वडा नम्बर १९का इन्चार्ज खड्गबहादुर वली लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य रामबहादुर पौडेलले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया