डियुटी समयमा अस्पतालबाटै सेवा दिनुस: नगरप्रमुख खड्का

 भदौ ०८, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले राप्ती प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारी तथा डाक्टरहरुलाई कार्यालय समयमा अस्पतालबाटै सेवा दिनका लागि निर्देशन दिनुभएको छ । प्रादेशिक अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड फलोअप समिक्षात्मक कार्यक्रममा बोल्दै उहाँले सेवाग्राहीहरुबाट कार्यालय समयमै सेवा नपाइने र नीजी क्षेत्रमा पठाउने गुनासो आइरहेको भन्दै तत्काल कार्यालय समयमा त्यहीबाटै सेवा दिन निर्देशन दिनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेको खड्काले सरकारी अस्पतालमा प्राय आर्थिकरुपमा विपन्न समुदायका व्यक्तिहरु सेवा लिन जाने भएकाले त्यस्ता व्यक्तिहरुलाई सेवा दिन र अस्पतालमा थप कुनै सहयोग आवश्यक भएको अवस्थामा पालिका सरकार तयार रहेको बताउनुभयो । खड्काले सडक संघर्षबाट स्थापना गरिएको अस्पताललाई साविक राप्ती अञ्चलमै उत्कृष्ट सेवा प्रवाहको अस्पतालकारुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले व्यवस्थापन पक्षलाई चुस्तदुरुस्त राख्दै मानवीय स्रोत साधनको प्रयोग र समय व्यवस्थापनमा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । अस्पतालमा रहेका सामग्रीहरु जनशक्ति अभावमा स्टोरमा थन्किएका छन् । अस्पतालमा भेन्टिलेटर,आइसियु, बालरोग विशेषज्ञ सेवा सञ्चालनका लागि सामग्री भएपनि जनशक्तिको अभावमा थन्किएरै रहेका छन् । अस्पतालमा एच डि यु सञ्चालनका लागि कोडिभ संक्रमणका समयमा राखिएका जनशक्तिबाट व्यवस्थापन गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले सडक संघर्षबाट स्थापना भएको अस्पताल ५० शैयाबाट लुम्बिनी प्रदेश सरकारले दुई सय शैयाकारुपमा सञ्चालनका लागि निर्णय गरे पनि आवश्यक जनशक्ति व्यवस्थापन नभएका कारण सेवा दिन नसकिएको बताउनुभयो ।

अस्पतालमा बालरोग विशेषज्ञसहितको सेवा सञ्चालनका लागि आठ करोडको लागतमा भवन निर्माण,भौतिक संरचना तयार गरेपनि जनशक्ति अभावमा पूरा हुन सकेको छैन । आवश्यक जनशक्ति व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा फाइल अघि बढेको विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताउनुभयो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रमुख डाक्टर विनोद गिरीले अस्पतालले तत्काल फिजियोथेरापी सेवा सञ्चालन गर्नका लागि निर्देशन दिनुभएको छ । प्रादेशिक अस्पतालहरुको न्यूनतम सेवा मापदण्डको फलोअप तथा समीक्षात्मक कार्यक्रममा उहाँले सेवाग्राहीहरुलाई सेवा दिनका लागि समय व्यवस्थापन र सेवा प्रवाहका विषयमा नियमितरुपमा सम्बन्धित विभागका प्रमुखहरुसंग नियमितरुपमा छलफल गर्नुपर्ने बताउनुभयो ।लुम्बिनी प्रदेशभित्र रहेका प्रादेशिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्डभित्र ८७ प्रतिशत ल्याएर कपिलवस्तु अस्पताल पहिलो भएको छ भने गुल्मी अस्पतालले ८६ प्रतिशत ल्याएर दोस्रो भएको छ भने राप्ती प्रादेशिक अस्पतालले ८४ प्रतिशत ल्याएर तेस्रो भएको छ ।

सेवा प्रवाहमा पहिलो हुने कपिलवस्तु अस्पतालका प्रमुख डा. किशोर बञ्जाडेले अस्पतालमा सेवा प्रवाह बढाउनका लागि अस्पतालमा कार्यरत कर्मचारी,डाक्टरहरुको समयको विशेष ख्याल गर्नुपर्ने र जनप्रतिनिधि,विकास समितिको विशेष भूमिका भएकै कारण प्रदेशमै सेवा प्रवाहमा पहिलो अस्पतालकोरुपमा विकास भएको बताउनुभयो । राप्ती प्रादेशिक अस्पतालले ६ ÷६ महिनामा हुने सेवा प्रवाहको समिक्षात्मक कार्यक्रम हुने गर्दछ । ६ महिना अघि ७१ प्रतिशत थियो भने अहिले ८४ प्रतिशत पु¥याएको छ । राप्ती प्रादेशिक अस्पतालमा दाङसहित रोल्पा,प्यूठान,सल्यानका सेवाग्राहीहरुले सेवा लिदै आएका छन् । अस्पतालले प्रसुति,सर्जरी,ल्याब,छाला, दन्तरोग विशेषज्ञ ,डाइलासिस सेवा दिदै आएको छ । एक महिना अघि मात्रै टोकन सेवा सुरु गरिएको थियो ।

तपाईंको प्रतिक्रिया