आज बुबाको मुख हेर्ने दिन

 भदौ ११, २०७९


काठमाडौं । कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन ।

यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार छोराछोरी आमा बाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो, विगतलाई नियाल्दै प्रगतिपथमा लम्कनु हो ।

हामीले हिजोलाई स्मरण गर्दै आफूलाई डोराउनु पर्छ । यसै तथ्यको परिप्रेक्षमा मात एवं पित दिवसलाई लिन सकिने जोशी बताउनुहुन्छ ।

यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्ठान्न तथा अरू अनेकौं लगा आदिहरू ल्याई चढाउने चलन छ ।

यसबाहेक दिवंगत भएका आमा बाबुहरूको सम्झनामा तीर्थ गोकर्णमा गई नुहाई धुआई गर्नुको साथै श्रद्धाञ्जलीस्वरूप तर्पण दिने कार्य गर्दछन् ।

तपाईंको प्रतिक्रिया