शाखा अधिकृतको परीक्षा कार्यक्रम सार्वजनिक

 भदौ २८, २०७९

तुलसीपुर । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि उक्त विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि स्थगित गरिएको परीक्षा कार्यक्रम मंगलवार पुनः सार्वजनिक गरिएको हो । रोकिएका परीक्षाहरू असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

सूचनाअनुसार शासन प्रणाली विषयको सबै सेवा समूहको द्वितीय पत्र असोज २८ गते, समसामयिक विषयको तृतीय पत्र असोज २९ गते र सेवा समूहसम्बन्धी चतुर्थ पत्रको परीक्षा असोज ३० गते सञ्चालन गरिने छ ।

अंग्रेजी भाषाको अतिरिक्त पत्र असोज ३१ र परराष्ट्र नीति तथा अन्तरराष्ट्रिय सम्बन्धसम्बन्धी अतिरिक्त पत्रको परीक्षा कात्तिक १ गते सञ्चालन हुने छ । लोक सेवाले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन गरेपछि त्यसविरुद्ध परेको रिट सर्वोच्चले भदौ ७ गते खारेज गरेको थियो ।

तपाईंको प्रतिक्रिया