पश्चिम दाङको कालापानी सामुदायिक बनमा सिमा बिबाद

 असोज ०१, २०७९

तुलसीपुर । दाङको बबई गाउँपालिकाको कालापानी सामुदायिक बन समुहको सिमाका बिषयमा बिबाद देखिएको छ । बबई गाउँपालिका वडा नम्बर २, ३ र ५ का उपभोक्ताले सिमा निर्माणका क्रममा बिबाद गरेका हुन् ।

साबिकको मनसुता सामुदायिक बन समुहबाट अलग भएको कालापानी सामुदायिक बनले सिमा निर्माण गर्न सकेको छैन । साबिकको मनसुता सामुदायिक बन समुहको नक्साका आधारमा सिमा निर्धारण गर्नुपर्ने माग राखेका छन् ।

साबिकको मनसुता सामुदायिक बन समुहको जग्गा अतिक्रमणमा परेको भन्दै उनीहरुले पुरानो नक्साका आधारमा सिमा छुट्याउनुपर्ने स्थानीय दुर्गाबहादुर भण्डारीले बताउनुभयो । बन समुहले कसैलाई काखा कसैलाई पाखाको नीति लिएको भन्दै भण्डारीले जग्गा अतिक्रमण गरेका उपभोक्तालाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

बबरपुरक्षेत्रको जग्गा अतिक्रमण भएको भन्दै जोतभोग गर्दै आएका सबै उपभोक्तालाई हटाउनुपर्ने उहाँको भनाई छ । अन्यथा जग्गा अतिक्रमण गरेर जोतभोग गर्दै आएका सबै उपभोक्तालाई जग्गा उपलब्ध गराउनुपर्ने भण्डारीको भनाई छ ।

यता सामुदायिक बन समुहका अध्यक्ष लिलाधर खड्काले १०/१२ बर्ष देखि जोतभोग गर्दै आएका उपभोक्तालाई केही जग्गा छुट्याइएको जानकारी दिनुभएको छ । उहाँहरुले धेरै बर्ष पहिले देखि जोतभोग गर्दै आएको आधारमा जग्गा छुट्याइएको बताउनुभयो । पुराना नक्साका बिषयमा केही परिबर्तन भएको भन्दै त्यसो गर्न नसकिएको अध्यक्ष खड्काले बताउनुभयो ।

फाइल फाेटाे

तपाईंको प्रतिक्रिया