दाङबाट २७ सहित देशभर ६८१ जना कैदीको कैद मिनाह

 असोज ०३, २०७९

दाङ । संविधान दिवसको अवसरमा दाङबाट २७ जना कैदीको कैद मिनाह भएको छ । घोराही कारागारबाट १० जना र तुलसीपुर कारागारबाट १७ जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ जना पुरुष रहेको घोराही कारागारका जेलर बासुदेव खनालले जानकारी दिनुभयो । उनका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह गरेका र एक जनालाई आम माफी दिइएको हो ।

कैद मिनाह हुनेमा सबैभन्दा बढी कतव्र्य ज्यान मुद्धाका रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दाङका २७ सहित देशभरबाट ६ सय ८१ जना कैदी–बन्दीको कैद माफी गर्नुभएको हो । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया