नागरिकता विधेयक प्रकरण: सर्वोच्चमा दायर भएका पाँचवटा रिटमा सुनुवाई भएन

 असोज ०७, २०७९

तुलसीपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटमा शुक्रबार सुनुवाई भएन । शुक्रबार हेर्न नभ्याइनेमा परेपछि ती रिटमाथिकाे सुनुवाईका लागि आइतबारलाई पेसी सरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको रिट शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । हेर्न नभ्याइएकाले सुनुवाई आगामी आइतबारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले बिहीबार छुट्टाछुट्टै रिट दायर गरेका थिए । रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शीतल निवास पुग्दा पनि प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया