दाङमा असार यता १ हजार ४ सय बढीमा डेंगु संक्रमण

 असोज १६, २०७९

बुटवल । घोराही–१७ दाङका लक्ष्मण चौधरीलाई असोजको दोस्रो साता उच्च ज्वरो आयो । तीन दिन टाउको र हाडजोर्नी सहनै नसक्ने गरी दुख्यो । ज्वरो नरोकिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा डेंगु संक्रमण पुष्टि भयो । त्यसयता उनी अस्पतालमा उपचार गरिरहेका छन् । अस्पताल डेंगुका विरामीले भरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक डा. रमेश कँडेलले बताए ।

उनका अनुसार डेंगु संक्रमण समुदायमा फैलिएकाले घरघरमा विरामी छन् । दैनिक १००/२०० विरामी अस्पतालसम्म आउने गरेका छन् । दाङ मात्र होइन, पश्चिम तराईका सबै जिल्लाका अस्पतालमा डेंगु संक्रमण भएका विरामीको चाप छ । खासगरी दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा साउनयता सुरु भएको डेंगु संक्रमणको ग्राफ अझै उकालो लाग्ने क्रममा छ ।

अघिल्ला वर्षहरुमा फाटफुटमात्र देखिने डेंगु यस वर्ष महामारीकै स्वरुप लिएको छ । दाङमा मात्रै असार यता १ हजार ४ सय बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । चार जनाको मृत्यु भएको छ । संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा ७१ जना, ०७७/७८ मा १५ र ०७८/७९ मा संख्या ६ जनामा मात्रै डेंगु संक्रमण देखिएको थियो ।

रुपन्देहीमा पनि डेंगु संक्रमणको दर उच्च छ । लुम्बिनी प्रादेशिक अस्पताल डेंगु संक्रमणका विरामीले भरीभराउ छ । रुपन्देहीमा डेंगु संक्रमितको संख्या करिब ८ सय पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, बुटवलका प्रदेशभर यो वर्ष असोज १३ सम्म ३ हजार ५० बढीमा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयकै उच्च अधिकारीहरु भने डेंगु संक्रमण हुनेहरुको संख्या ५ हजार नाघेको अनुमान गर्छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेल पनि पछिल्लो तीन महिनामा डेंगु संक्रमणको दर सबैभन्दा उच्च भएको बताउँछन् । उनका अनुसार प्रदेशमा दाङमा १ हजार ४१० र रुपन्देही ७३६, गुल्मी २९९, पाल्पामा ११५, अर्घखाचीमा १३८, बर्दियामा ९१, कपिलबस्तुमा ८२, नवलपरासी पश्चिममा ६७, बाँकेमा ४९, प्युठानमा ३६, रुकुम पूर्वमा १५ र रोल्पामा ४ जनामा संक्रमण पुष्टि भएको छ । अनलाईन खवरबाट

तपाईंको प्रतिक्रिया