रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु

 असोज ३०, २०७९

काठमाडाैँ । रुसको एक सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको सरकारी समाचार एजेन्सी रियाले जनाएकाे छ ।

एजेन्सी रियाका अनुसार बन्दुक आक्रमणमा गरी ११ जनाको मृत्युसँगै १५ जना घाइते भएका हुन् । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीमा उल्लेख छ ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ ।

आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन । गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिएका थिए ।

यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरैले देश छाडेका थिए ।

तपाईंको प्रतिक्रिया