दक्षिण अफ्रिकाको हारसंगै एक खेल अगाबै भारत सेमिफाइनलमा

 कार्तिक २०, २०७९

आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को समुह २ को खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा प्रवेश गर्न जित आवश्यक थियो । तर नेदरल्यान्ड्सविरुद्ध खराब प्रदर्शन गर्दै हार बेहोरेपछि टोली समूह चरणबाट नै बाहिरिने पक्का भएको हो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गर्दै विश्वकपको दोस्रो जित निकाल्यो । यसअघि जिम्बावेलाई हराएको नेदरल्यान्ड्सको ४ अंक पुगेको छ ।

नेदरल्यान्ड्सको जितले भारत भने एक खेल अगावै सेमिफाइनल पुगेको छ । भारतले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ । दक्षिण अफ्रिकाको ५ खेलमा २ जित, २ हार र १ अनिर्णितसँगै ५ अंक छ । अब पाकिस्तान र बंगलादेशमध्य एक टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै टोलीको ४ अंक छ । आज नै पाकिस्तान र बंगलादेशबीच खेल सुरु हुँदैछ । उक्त खेल जित्ने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

आज हुने अन्तिम खेलमा भारत र जिम्बावे पनि भिड्नेछन् । उक्त खेलमा भारत जित हासिल गर्दै समूह विजेताको स्थान पक्का गर्न चाहन्छ । जिम्बावे ३ अंक जोड्दै पुछारमा छ । यता समूह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

तपाईंको प्रतिक्रिया