मानवीय विकास पहिलो प्राथमिकता: नगरप्रमुख खड्का

 कार्तिक २२, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भौतिक विकास भन्दा प्राथमिकताको विषय मानवीय विकास रहेको बताउनुभएको छ । जन्मदर्ताको महत्व तथा कानुनी प्रावधानका सम्बन्धमा सरोकारवाला बीच भएको छलफलका क्रममा उहाँले भौतिक विकास मात्रै देख्ने परम्परागत धारणाका कारण मानवीय विकासमा ध्यान दिन नसकिएको बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख खड्काले पालिकाभित्र बालमैत्री शासन कार्यान्वयनका लागि अझै मानवीय विकासका क्षेत्रमा बजेटको दायरा बढाउनुपर्ने बताउनुभयो । उपप्रमुख स्यानी चौधरी आगामी दिनहरुमा संरचनागत बजेटभन्दा मानवीय विकासको बजेट दायरा बढाइने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख चौधरीले बालबालिकाहरुको शिक्षा,स्वास्थ्यजस्ता आधारभूत विषयमा गम्भीरतापूर्वक अघि बढ्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार पौडेल,पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया