भैलोबाट संकलित रकमले मुल्कोटमा धारा निर्माण, कर्मचारी डाँगीद्धारा पाँच हजार सहयोग

 मङि्सर १८, २०७९

तुलसीपुर । तिहारको बेला मानिसहरु विभिन्न उद्देश्य लिएर देउसीभैलो खेल्छन् । सामुहिक रुपमा खेलिने देउसीभैलोको नाममा विभिन्न समुह,क्लव र संघसंस्थाले रमाईलो तथा मनोरञ्जन र सामाजिक उद्देश्य लिएर खेल्ने गर्दछन् । तर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मुल्कोटका केहि स्थानियहरु मिलेर खेलेको देउसी भैलोबाट संकलित रकमलाई सामाजिक कार्यमा खर्च गरेका छन् ।

२०७९ सालको तिहारमा स्थानियहरुले सामाजिक उद्देश्य लिएर देउसीभैलो खेलेका थिए । सोहि देउसीभैलोबाट संकलित रकम र सहयोगदाताहरुको सहयोगमा मुल्कोट पानी मुहान नजिकै व्यवस्थित सार्वजनिक धारा निर्माण गरेको मुल्कोट टोल विकास संस्थाका अध्यक्ष तथा भैलो समुहका अगुवा ऋषिराम पुनले जानकारी दिनुभयो । गाउँमा केहि स्थानियहरु मनोरन्जनका लागी भैलो खेलेपनि आफुहरुले सामाजिक उद्देश्य लिएर खेलेको उहाले बताउनुभयो ।
थोरै बजेटबाट पनि खानेपानीको धारा निर्माण गर्न सकिने अनुमानको आधारमा टोलबासीहरुले तिहारमा देउसीभैलो खेलेको उहाले बताउनुभयो । यद्यपी भैलोबाट संकलित रकमले मात्रै धारा निर्माण गर्न समस्या भएपछि नगद तथा जिन्सी सहयोग उठाएको उहाले बताउनुभयो । भैलोबाट १६१८० रुपैया संकलन भएको थियो ।

उक्त रकम अपुग भएपछि विभिन्न व्यक्तिहरुबाट नगद तथा जिन्सी गरेर बत्तिस हजार पाँच सय रुपैया सहयोग प्राप्त भएको उहाले जानकारी दिनुभयो । धारा निर्माण कार्य सम्पन्न भएपछि आयव्यय सार्वजनिक गर्दै उहाले धारा निर्माण कार्यमा निबर्तमान वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले पाँच हजार रुपैया बराबरको दश बोरा सिमेन्ट, स्थानिय तथा युवा धुव्र पुनले ११ हजार बराबरको एक टिप बालुवा,समाजसेवी तथा हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष दोलक बहादुर खत्रीले व्यक्तिगत रुपमा पाँच हजार पाँच सय बराबरको सुचना बोर्ड, तुलसीपुर उपमहानगरपालिका कार्यालयको यान्त्रिक शाखा प्रमुख केशव बहादुर डाँगीले व्यक्तिगत रुपमा नगद पाँच हजार र स्थानिय युवा नेता तथा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले व्यक्तिगत रुपमा सुचना बोर्डमा लेखन कार्यका लागी दुई हजार रुपैया आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।
यस्तैगरी स्थानियहरु छविलाल पुनले नगद दुई हजार , सिताराम पुन र विकास घर्तिले एक÷एक हजार रुपैया सहयोग गर्नुभएको हो भने स्थानियले श्रमदान समेत गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनले खर्च विवरण सार्वजनिक गर्दै झन्डै ४० हजार खर्च भएको र बचत भएको रकमलाई सामाजिक कार्यमा लगानी गर्ने योजना रहेको बताउनुभयो । साथै उहाले भैलोमा सहभागी हुने दाजुभाई दिदीबहिनी, सहयोग गर्ने सहयोगदाता सबैमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।

स्थानियको सक्रियता देखेर कर्मचारीहरु प्रभावित
मंसीर १७ गते शनिवार तुलसीपुर ४ मुल्कोटका स्थानियले भरखरै निर्माण गरेको सार्वजनिक धाराको खर्च सार्वजनिक कार्यक्रमको आयोजना गरेका थिए । सोहि दिन शनिवारकै फुर्सदको समय मिलाएर तुलसीपुर उपमहानगरपालिकाका बहालवाला कर्मचारी तथा निबृत्त कर्मचारीहरु मुल्कोटमा पुगेका थिए ।  उनीहरु समेत खर्च सार्वजनिक कार्यक्रममा सहभागी भए । कार्यक्रममा सहभागी भएका मध्ये तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख केशव डाँगीले व्यक्तिगत रुपमा नगद पाँच हजार रुपैया आर्थिक सहयोग गर्नुभयो । रकम हस्तान्तरण गर्दै उहाले स्थानियको सक्रियता र सामाजिक कार्यका लागी आफुले पनि सहयोग गरेको बताउनुभयो ।
भुगोल दुर्गम भएपनि सुन्दर बस्ती र आनन्दको हावापानी भएको भन्दै यस क्षेत्रको विकासका लागी विगतमा पनि आफुले कर्मचारीको हिसावले सहयोग गरेको र भोलीका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । निवर्तमान वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले आफनै पालामा मुल्कोट हुदै सल्यान सिमाना सुकिदह सम्म सडक बाटो विस्तार, पानी मुहान देखी उत्तर तर्फ रहेको मानव बस्तीमा लिफिटीङ मार्फत खानेपानी विस्तार गरेको बताउनु भयो ।

दाङ देखी सल्यान जोड्ने बैकल्पिक सडक बाटोका रुपमा मुल्कोट हुदै कपुरकोट सम्म बाटो विस्तार गर्ने सपना रहेको उहाले बताउनुभयो । पाँच बर्षे कार्यकालमा आफनो योजना पुरा गर्ने सपना अपुरै रहे पनि भोलीका दिनमा त्यो पुरा गर्ने बताउनुभयो । यस्तैगरी तुलसीपुर उपमहानगरपालिकाका पुर्व निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतम र निबृत्त सवओभरसियर राम कुमार आचार्यले यस क्षेत्रको विकास संगै स्थानियबासी र कृषकको जिवनस्तर बदल्नका लागी कार्यक्रम तथा उद्यम संचालन गर्नु पर्नेमा जोड दिनुभयो । यसका लागी आफुहरुले समेत सक्दो पहल तथा सहयोग गर्ने बताउनुभयो ।

तपाईंको प्रतिक्रिया