ब्राजिलले आज क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्ने 

 मङि्सर २३, २०७९

ब्राजिलले विश्वकप २०२२ को शुक्रबार हुने क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । त्यसअघि टिममा नेयमर चोटमुक्त हुँदै फर्केपछि उत्साहित रहनेछ । नेयमरको आकर्षक प्रदर्शन मदतमा ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएको थियो । उक्त खेलमा नेयमरले पेनाल्टीबाट एक गोल गरेका थिए । अन्य गोल भिनिसियस जुनियर, रिचार्लिसन र लुकास पाक्वेटाको नाममा रह्यो ।

ब्राजिलले कम्तीमा ४५ मिनेट निकै आक्रामक फुटबल खेलेको थियो । यसलाई हेर्दा आनन्द आउने खालको खेल थियो । गोलपछि खेलाडीले नाच्न पनि भ्याए । त्यतिमात्र नभएर त्यस नाचमा ६१ वर्षीय प्रशिक्षक टिटे पनि सामेल भए । दोहाको स्टेडियम ९७४ मा ब्राजिलको प्रदर्शन कतिसम्म राम्रो रह्यो भने यस ब्राजिली टिमको तुलना सन् १९७० को पेले र सन् १९८२ को सोक्रेटसको टिमसँग तुलना हुन थालेको छ । तर ब्राजिलको यस्तो प्रदर्शन एकै खेलमा मात्र सम्भव भएको छ ।
कीर्तिमान पाँचपल्टको विजेताले समूह चरणमा तीनै गोलमात्र गरेको थियो । अन्तिम खेलमा क्यामरुनसँग हार बेहोरेको थियो । सन् १९९८ यता ब्राजिल पहिलो चरणमा पराजित भएको यो पहिलोपल्ट हो । अब ब्राजिलले सन् २०१८ को उपविजेता क्रोएसियाको एजुकेसन सिटी स्टेडियममा सामना गर्दा यत्तिकै आकर्षक फुटबल खेल्न सक्न कठिन हुनेछ । टोलीका लागि जित नै पर्याप्त हुन सक्नेछ अनि यसका लागि भरपूर मिहिनेत गर्नुपर्नेछ ।

सन् २००२ को विश्वकप जितेयता ब्राजिल प्रत्येकपल्ट युरोपेली टिमसँग पराजित हुँदै बाहिरिएको थियो । सन् २०१४ को आफ्नै भूमिमा भएको विश्वकप सेमिफाइनलमा ब्राजिल जर्मनीसँग लज्जास्पद ढंगले ७–१ ले पराजित भएको थियो । यस्तै चार वर्षअघि ब्राजिल रुसमा बेल्जियमको हातबाट बाहिरिएको थियो । नेयमरले दक्षिण कोरियालाई हराएयता आत्मविश्वासी हुँदै भनेका छन्, ‘हामी उपाधि जित्ने सपना बुनिरहेका छौं । यसका लागि हामीले एकपछि अर्को पाइला चाल्छौं ।’

तपाईंको प्रतिक्रिया