निगमले नाफा कमाउनै हुन्न भन्ने मानसिकता त्यागौं कार्यकारी निर्देशक पौडेल

 जेठ ०३, २०७७

विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजार भाउ घट्दासमेत नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटेपछि नेपाल आयल निगम निर्मम भएको आरोप उपभोक्ता अधिकारकर्मीहरू लगाउँछन् । तर, नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेल भने इन्धनको मूल्य घटबढले समग्र देशको अर्थव्यवस्था प्रभावित हुने भएकाले हचुवाको भरमा निर्णय नगर्ने बताउँछन् ।

नेपाल आयल निगमका  कार्यकारी निर्देशक पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश-

अहिले पेट्रोलियम पदार्थ आपूर्तिको अवस्था कस्तो छ ?

इन्धन आपूर्ति अवस्थालाई दुई किसिमले हेर्नुपर्छ । पहिलो डिजेल, पेट्रोल, हवाई इन्धन र दोस्रो ग्यास । मट्टीतेलको हिस्सा खासै छैन । ग्यास भारतबाट जति माग्यो त्यति पाउने अवस्थामा छौ‌ं। करिब करिब १५ हजार मेट्रिकटन ग्यास हामीसँग मौज्दात छ । यसले सबै रेस्टुरेन्ट चल्दाको सामान्य अवस्थामा पनि १२ दिनको माग धान्न सक्छ । हामीसँग भण्डारण नभए पनि हरेक उद्योगसँग ग्यास मौज्दात छ । बुलेटहरू भरिएर बसेका छन् । लकडाउन अझै गहिरियो वा संकट थपिए पनि अभाव नहुने अवस्थामा हामी छौँ ।

नियमित रुपमा हवाई इन्धन आइरहेको थियो । एक्कासी हवाई उडान ठप्प भएपछि भण्डारण पनि भरियो । करिब ८० वटा लोडेड ट्यांकरले इन्धन खन्याउन ठाउँ पाएनन् । अहिले ट्यांकर रुँघेर बस्नु परेको छ । स्पष्टसँग भनौं हवाई इन्धन नबिकेर त्यसलाई मट्टीतेलमा रुपान्तरण गर्नुपर्ने समस्यामा निगम छ ।

अब डिजेलको कुरा गरौँ । डिजेल आयात नियमित छ । पाइपलाइन सधैं पूर्ण क्षमतामा राख्ने हाम्रो रणनीति छ। त्यसैअनुसार काम गरेका छौं । चाहिएको बेला खोल्ने र नचाहिँदा बन्द गर्ने अहिलेको रणनीति हो । अमलेखगञ्जको २० हजार किलोलिटरको ट्याङ्की भरिएको अवस्थामा छ। पूर्व, काठमाडौं, पोखरा र भैरहवासम्मका लागि अमलेखगन्जबाट र पश्चिम नेपालका लागि भारतको गोण्डा र बन्थराबाट तेल लिइराखेका छौँ ।

पेट्रोलमा पनि कुनै समस्या छैन । सबै बिन्दुबाट हुने आयात निरन्तर छ । लकडाउनले बजारमा खपत अत्यन्तै कम भएको र भण्डारण क्षमता पनि नभएकाले आयात नै गर्न सकेका छैनौँ । निगम र निजी क्षेत्रको भण्डारण क्षमता र राख्न मिल्ने सबै ठाउँमा अहिले पनि डिजेल, पेट्रोल र ग्यासको मौज्दात राखेका छौँ । जनता ढुक्क हुनुभए हुन्छ अहिलेकै परिस्थितिमा कुनै पनि खालको अभाव हुनेछैन ।

बजारमा पेट्रोलियम पदार्थको खपतको समग्र अवस्था कस्तो देखिन्छ ?

सामान्य अवस्थामा मुलुकमा मासिक ३८ हजार मेट्रिकटन ग्यास खपत हुन्छ । तर, उपभोक्ताले केही समय पहिले ग्यास मौज्दात राखे । जसका कारण बजारमा अहिले ग्यास बिक्नै छोडेको छ । यो महिना खपत अलि बढ्यो भने २८ हजार मेट्रिकटनसम्म आयात गर्न सकिन्छ कि भन्ने तयारी गर्दैछौँ । पछिल्लो दुई दिनमा पेट्रोल र डिजेलको खपत बढेको पाइएको छ । विराटनगरमा मात्रै आइतबार १८ लाख लिटर तेल बिक्री भएको देखिएको छ । अप्रिल ३० सम्म कुल मागको २० प्रतिशत मात्रै बिक्री भएको थियो । ८० प्रतिशत बिक्री थिएन । तर, अहिले पछिल्लो सात दिनमा माग ३३ प्रतिशत पुगेको छ ।

मे महिनामा सामान्य अवस्थाको कुल खपतको ४० प्रतिशत पुग्छ कि भन्ने आशा छ । लकडाउनका कारण पेट्रोलमा ९० प्रतिशत, मट्टितेलमा ९८ तथा हवाई इन्धनमा ९९ प्रतिशतको गिरावट छ भने ग्यासको खपत ७३ प्रतिशतले घटेको छ । कुल उपभोगमा ६८ प्रतिशतको गिरावट छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपालमा भाउ किन नघटेको ?

तेलको मूल्यका विषयमा आमउपभोक्तालाई गलत सूचना प्रवाह भइरहेको छ जस्तो मलाई लाग्छ जुन चिर्नु अनिवार्य छ । मूल्यको विषयमा म निगमभन्दा माथि उठेर राष्ट्रको नजरबाट प्रष्ट्याउन चाहन्छु । ताकि बुझ्ने मान्छेले हल्का टिप्पणी नगरून् । तेलको मूल्य र निगमको निर्णयले देशको सम्पूर्ण अर्थतन्त्रलाई असर पुर्‍याउँछ तर धेरै मानिसले यो दृष्टिकोणबाट नसोचेको मैले पाएको छु ।

भारतबाट हुने सबै आयातको १८ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको हो भने नेपालको कुल आयातको १२ प्रतिशत हिस्सा पनि पेट्रोलियम पदार्थकै हो । यो दक्षिण एसियाली मुलुकमा सबैभन्दा धेरै हो । यस्तै कुल व्यापार घाटाको १३ प्रतिशत हिस्सा पनि इन्धनकै छ । तसर्थ निगमले गर्ने साना-ठूला निर्णयले देशको अर्थतन्त्रमा सिधा असर वा फाइदा देखिन्छ । निगम कुनै पनि हालतमा हल्का बन्दैन । हामी गम्भीर र जिम्मेवार छौं।

हामीले मूल्य बढाउँदा सिङ्गो देशको बजारमा मूल्यवृद्धि हुन्छ भने घटाउँदा कुन-कुन वस्तु वा सेवामा मूल्य घट्छ । त्यसैले मूल्यबारे निगम हलुका हुँदैन । निगमले पाँच रुपैयाँ मूल्य बढायो भने यातायातको शुल्क बढाउन पाउने कानुन छ । तर, यसअघि लिटरमा १० रुपैयाँ मूल्य घटाउँदा उपभोक्ताले के राहत पाए ? के-केमा मूल्य घट्यो ? संगठन वा कोर्टेलिङ अर्थतन्त्र भएको मुलुकमा निगमले हल्का निर्णय लिँदैन ।

अनलाईन खबरबाट

तपाईंको प्रतिक्रिया