दाङलाई चलचित्र नगरीका रुपमा विकास गर्न सकिन्छ: अभिनेता शाक्य

 चैत १३, २०७७


तुलसीपुर ।

अभिनेता धिरेन शाक्यले दाङ जिल्लालाई पनि चलचित्र नगरीको रुपमा विकास गर्न सकिने थुप्रै सम्भावना रहेकोे बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आज तुलसीपुरमा शाक्यसंग गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । भौगोलिक हिसाबले केन्द्रिय राजधानीबाट टाढा भएता पनी जिल्लामा चलचित्र छायांकन गर्न सकिने धेरै ठाउँहरु रहेकोले सम्भावना रहेको उनले बताए ।

यसका लागि सम्बन्धित निकायबाट विभिन्न स्थानको विकास,प्रवर्द्धन र सम्वर्द्धन गर्नमा ध्यान दिन आवस्यक रहेको बताए । चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेता शाक्यले कोभिड(१९ ले थिलोथिलो परेको चलचित्र क्षेत्र चलायमान कहिलेबाट हुन्छ भनेरभन्न नसकिने बताए । यो अवस्थामा चलचित्र निर्माण घोषणा र प्रदर्शन गर्न हतार नगर्दा राम्रो हुने सुझाव समेत दिएका थिए ।

चलचित्र ूमन्जिलूको सुटिङ गर्न दाङ आएका अभिनेता शाक्यलाई पत्रकारले तपाईंले निर्माण गर्ने चलचित्रको काम के भइरहेको छ ? भन्ने जिज्ञासामा वैशाखदेखि छायांकन सुरु गर्ने योजना भएपनी कोभिडको त्रास कायमै रहेकाले तत्काल घोषणा हुने सम्भावना नरहेको बताए।

चलचित्र पत्रकार संघ नेपाल,दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघ संस्थापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण सचिव पुर्ण केसीमुस्कानले गरेका थिए।

तपाईंको प्रतिक्रिया