चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने तयारी

 बैशाख २०, २०७८

काठमाडौं । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ले निर्णय गरेको छ ।

उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् । त्यस्तै मानिसहरूले घरमा अक्सिजन होल्ड गरेर राख्दा पनि अपुग भएको उनीहरूको भनाइ छ । नयाँ प्रजातिको कोरोना भाइरसले संक्रमितको श्वासप्रश्वासमा असर पार्ने र उनीहरूलाई अक्सिजन दिनुपर्ने अवस्था बढी भएको चिकित्सहरूले बताएका छन् । संक्रमण बढेसँगै अक्सिजनको माग बढ्ने भएकाले थप सिलिन्डर आवश्यक भएको हो ।

सीएमसी बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान व्यवस्थित गर्ने निर्णय गरेको छ । निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया