तीन बालक मृत्यु प्रकरण: शरीरमा चोटपटक देखिएन

 बैशाख २१, २०७८


तुलसीपुर ।

तुलसीपुरमा राेकिराखेकाे कारमा मृत भेटिएका तीन बालकको पोष्टमार्टम रिपोर्ट अाएकाे छ । दाङमा पोष्टमार्टम गर्ने विशषेज्ञ नभएको हुँदा बुटवलबाट तुलसीपुर झिकाएर मृतक तीन बालकको पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टम रिपोर्टअनुसार तिनै जना बालकको शरीरमा कुनै पनि चोटपटक वा घाउ नरहेको देखिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । एसपी चन्दले माघ १ गतेदखि लक गरी पार्किङ गरेर राखिएको भनिएको कारभित्र ती बच्चा कसरी प्रवेश गरे भन्ने कुरा ‘रहस्यमय’ रहेको बताएका छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र उनीहरू मृत अवस्थामा फेला परेका थिए । यहि बैशाख १६ गतेदेखी बेपत्ता भएका तुलसीपुर ६ बरुवागाउँ बस्ने भिम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र किरण परियारका ६ बर्षका छोरा करण परियार पार्किङ गरि राखेको आरजे ०१ सिसी ०८८५ नम्वरको भारतीय गाडी भित्र शनिवार साँझ मृत भेटिएका थिए ।

मृतकका आफन्तीहरुले भने हत्या नै भएको भन्दै दोषी पत्ता नलाग्दा सम्म शव नबुझने अडान लिएका छन् ।

तपाईंको प्रतिक्रिया