देशभरका ४५ जिल्लामा निषेधाज्ञा जारी

 बैशाख २१, २०७८



काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेका छन्। यो सँगै निषेधाज्ञ लागू गरिएका जिल्लाको संख्या ४५ पुगेको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

गत १३ वैशाखको मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

हाल नेपालका ३३ जिल्लामा कोरोना संक्रमण अवस्था बढ्दो रुपमा देखिएको छ । जसमध्ये १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसैगरी १९ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, रौतहट, महोत्तरी, मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी ९पूर्व०, बाग्लुङ, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, अर्घाखाँची, कञ्चनपुर र बैतडी रहेका छन् ।

तपाईंको प्रतिक्रिया