हवाई आक्रमणबाट १८८ प्यालेस्टाइनीको मृत्यु

 जेठ ०३, २०७८

इजरायली हवाई आक्रमणबाट आइतबार बेलुकीसम्म प्यालेस्टाइनी क्षेत्रमा १८८ जनाको ज्यान गएको छ । दुई पक्षबीच शुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टाइनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ । इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ। सेनाले प्यालेस्टाइनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्‌। शनिबार राति दुबै देशका नेताहरूसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ।

तपाईंको प्रतिक्रिया