ताइपेइमाथि नेपालकाे सहज जित

 जेठ २०, २०७८

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो ।उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । खेलको ८० औं मिनेटमा मनिष डाँगीले एकल प्रयासमा बल अघि बढाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २-० ले अघि बढाएका थिए ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

तपाईंको प्रतिक्रिया