निषेधाज्ञाको समयमा दुई सय लैङ्गिक हिंसाका घटना

 जेठ २७, २०७८

काठमाडौं ।

कोरोना संक्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर दुई सय लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा दुई सय लैङ्गिक हिंसाका घटना घटेको पाइएको हो ।

केन्द्रका अनुसार लैङ्गिक हिंसाका दुई सय घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना भएका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना भइरहेको बताए ।

केन्द्रका अनुसार यसै सातामात्र तीनवटा यौनजन्य हिंसाका घटना भएका छन्। सुर्खेतको गुर्भाकोट गाउँपालिका–९ मा एक किशोरीमाथि मञ्जुरीबिना मदिरा सेवन गरी यौन दुर्व्यहार गरेको, बाँकेकी २२ वर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको छ ।

तपाईंको प्रतिक्रिया