कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

 साउन ०४, २०७८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

‘निर्णय गरिएको कपी हामीसम्म आइपुगेको छैन । भोलिसम्म आइपुग्ला त्यसपछि बोर्डको बैठक बसेर निर्णय गर्छौं । साउन चौथो हप्ताभित्र गर्छौं’ उनले भने । बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

परीक्षा सय पूर्णांककै हुने

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षो राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै गराउने तयारी गरेको बोर्डले जनाएको छ ।

तपाईंको प्रतिक्रिया