मोडल निशा घिमिरेको निधन

 भदौ १६, २०७८

काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ। घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो।

नर्भिक अस्पतालले घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो। सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ। लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो।

तपाईंको प्रतिक्रिया