हलवार स्वास्थ्य चौकीको सुविधायुक्त भवनबाट सेवा शुभारम्भ

 असोज ०१, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हलवार स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा शुभारम्भ गरिएको छ । करिब २ करोड ४५ लाखको लागतमा निर्माण गरिएको सुविधासम्पन्न भवनको शुक्रबार आज तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले सुविधा सम्पन्न नयाँ भवनबाट सेवा आरम्भ भएसंगै स्वास्थ्य चौकीले उपचार सेवा प्रभावकारी बनाउने बताउनुभयो । नागरिक स्वस्थ भएमात्रै समृद्ध नेपालको परिकल्पना गर्न सकिने भएकाले नगरले स्वास्थ उपचार सेवालाई प्रभावकारी बनाउदै लैजाने बताउनुभयो ।

नगरले हलवार स्वास्थ्य चौकीलाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ । नगरप्रमुख पाण्डेले एम्बुलेन्सले सुत्केरी, अशक्त, बालबालिका तथा जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार लिन सहजता प्रदान गर्ने बताउनुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक बालकृष्ण राणाको अध्यक्षता तथा नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम गरिएको हो ।

स्थानीय सरकारको पहलमा संघिय सरकारबाट प्राप्त बजेटले २० कोठाको स्वास्थ्य चौकीको भवन निर्माण भएको हो । नयाँ भवनबाट प्रसुती गृह समेत संचालनमा आएपछि सुत्केरी हुनका लागि तुलसीपुर पुग्नुपर्ने बाध्यता हटेको छ । उद्घाटन कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया