कपुरकोट र लुहाम बजारमा म्याद गुज्रेका सामान फेला

 असोज १८, २०७८

सल्यान । सल्यानका विभिन्न बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्ला स्थित नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन गरेको हो । सोमबार कपुरकोट र लुहाम बजार अनुगमन गरिएको सल्यान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए । टोलीले खाद्यान्न, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । सोमबार मात्रै १७ वटा पसलमा अनुगमन भएको छ ।

सो क्रममा ९ हजार ३ सय २० रुपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरिएको खड्काले बताए । कपुरकोटबाट ६ हजार ३ सय ३५ र लुहाम बजारबाट २ हजार ९ सय ८५ रुपैयाँ बराबरको म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरिएको थियो । यस अघि जिल्लाका अन्य बजारहरु सल्लीबजार, श्रीनगर, थारमारेमा पनि अनुगमन गरिएको सहायक प्रमुख खड्काले बताए । अनुगमनको क्रममा अधिकांश पसलमा मुल्य सुची नराखेको, म्याद गुज्रेका सामग्री भेटिएको तथा धेरैले आफ्नो व्यवशाय दर्ता नविकरण नगरेको पाइएको थियो ।

अनुगमन टोलिले सम्बन्धीत निकायमा व्यवशाय दर्ता तथा नविकरण गर्न सुझाव दिनुका साथै उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको खड्काले बताए ।व्यवसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापको नियमन गर्नका लागि बजार अनुगमन गर्ने गरिन्छ ।

चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद नाघेका अखाद्य वस्तु बेच्ने गरेको भन्ने गुनासो आउने भएकाले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया