साफ च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल र बंगलादेश भिड्दै

 असोज २७, २०७८

काठमाडाैं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।यो खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ पौने ५ बजेदेखि सुरु हुनेछ ।

यसअघिका तीन खेलमा २ जितसहित फाइनल प्रवेशको सम्भावना बलियो पारेको नेपालले आजको खेलमा बंगलादेशसँग कम्तिमा १ अंक लिनुपर्छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छैन । पाकिस्तान र भुटानको सहभागिता नभएपछि यस संस्करणको साफमा ५ टोलीबीच राउण्ड रोविन लिग प्रणालीमा प्रतियोगिता खेलाइएको छ ।

लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले सिधै फाइनल खेल्नेछ । आज बंगलादेशमाथि नेपालले कम्तिमा बराबरी खेले पनि ऐतिहासिक रुपमा फाइनलमा पुग्नेछ । लिग चरणमा नेपालले पहिलो र दोस्रो खेलमा क्रमसः आयोजक तथा साविक विजेता माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने पछिल्लो खेलमा भारतसँग १–० गोलको पराजय ब्यहोरेको थियो ।

तपाईंको प्रतिक्रिया