सर्वोच्चमा प्रहरीको हस्तक्षेप ,बारका अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

 मङि्सर ०२, २०७८

काठमाडौं । प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालत परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बिहीबार बल प्रयोग गरेको छ । बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।

प्रहरीको घेरा तोड्न खोजेपछि कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । उनीहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ । एकजना डिएसपीको हातमा चोट लागेको छ । शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

तपाईंको प्रतिक्रिया