मङ्सिर १७ गतेदेखि सबै पालिकाबाट मतदाता नामावली सङ्कलन गरीदै

 मङि्सर ०६, २०७८

काठमाडौं । निर्वाचन आयोगले केही समयका लागि रोकिएको मतदाता नामावली सङ्कलन सम्बन्धी काम फेरि सुरु गर्ने भएको छ । आयोगले ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलनको कामलाई निरन्तरता दिइने जनाएको छ । यसबाहेक पनि देशभरका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्लन सम्बन्धी विशेष कार्यक्रम अभियानको रूपमा सुरु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

मतदाता नामावली सङ्कलनको काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । आयोगले१८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गर्न सबैलाई आग्रह गरेको छ । आगामी मङ्सिर १७ गतेदेखि सुरू हुने मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने छन् । पुष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावली सङ्कलनको काम सकिने आयोगले जनाएको छ । २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम रहेकोमा यो अभियानपछि देशभर करिब १० लाख मतदाता थप हुने अनुमान आयोगले गरेको छ । यसअघि कोरोना महामारी तथा अघिल्लो सरकारले निर्वाचन घोषणा गरेका कारण मतदाता नामावली सङ्कलनको काम केही समय रोकिएको थियो ।

तपाईंको प्रतिक्रिया