इलामको चिया उद्योगमा आगलागी, करोडौको क्षति

 माघ ०३, २०७८

इलाम। इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित ‘अन्तु भ्याली टी कारखाना’मा भीषण आगलागी हुँदा कारखाना सहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ ।इलाम टी प्रोड्युस प्रालिद्वारा सञ्चालित कारखानामा आइतबार दिउसो ३ बजे आगलागी हुँदा चिया कारखानाको तीन वटा भवनसहित सम्पूर्ण मेसिन औजार जलेर नष्ट भएको उद्योगले जनाएको छ।

आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासि कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख इन्सपेक्टर देउप्रसाद लिम्बुले जानकारी दिए ।

आगलागीबाट करोडौंको क्षति भएको सञ्चालक किसन गिरीले जानकारी दिए । भएको संरचना सबै जलेर नष्ट भएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आउन अझै केही घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ ।क्षतिको विवरण संकलन गर्न भने बाकी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन बारुण यन्त्र लाने क्रममा सडक आसपासका केही संरचनाहरु भत्काइएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया