विद्यालय कर्मचारी परिषद्ले तुलसीपुरमा बुझायो ध्यानाकर्षण पत्र

 माघ ०४, २०७८

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालय कर्मचारीको टोलीले नगरप्रमुख पाण्डेलाई आफ्नो माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । चालु आर्थिक वर्षमा स्थानिय सरकारले विद्यालय कार्यालय सहयोगी र वालविकास शिक्षकहरुको सात हजार थप गरेपनि लेखापालहरुको एक हजार पाँच सय रुपैया मात्रै थप गरिएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

दाङका अन्य पालिकाहरुले कार्यालय सहयोगी, वालविकास सहजकर्ताहरुको अनुपातमा लेखापालहरुको पनि सात हजारका दरले पारिश्रमीक थप गरेकोमा तुलसीपुर उपमहानगरपालिकाले नथपेको भन्दै निर्णय सच्याउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । तुलसीपुर नगर समितिका अध्यक्ष मिना भण्डारी र सचिव चेतनराज बस्नेतद्धारा हस्ताक्षरीत पत्रमा शिक्षा शाखाबाट आवश्यक बजेट विनियोजन हुनुको साथै शिक्षा समितिले समेत सिफारिस गरेको अवस्थामा कार्यपालिकाको बैठकले माग सम्वोधन नगरी पन्छिने काम भएको उल्लेख छ ।

साथै आफुहरुको माग एक हप्ता सम्म पुृरा नभए तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गर्ने उनीहरुको चेतावनी छ । यता नगरप्रमुख पाण्डेले ध्यानाकर्षण पत्र बुझदै सम्वन्धित विद्यालयले त्यसको व्यवस्थापन गर्ने गरी कार्यपालिका बैठकले निर्णय गरेको प्रतिक्रिया दिनुभएको छ । उहाले अहिले आर्थिक व्यवस्थापन गर्न मुस्किल परेको हुदा समस्या भएको बताउनुभयो । तुलसीपुरका सामुदायिक विद्यालयमा कार्यरत लेखापालहरुको पारिश्रमिक अहिले संघिय सरकारबाट १३ हजार ५ सय स्थानिय सरकारबाट एक हजार पाँच सय गरी कार्यालय सहयोगी र वालविकास सरह पन्ध्र हजार रुपैया बुझेका छन ।

तपाईंको प्रतिक्रिया