चुनावको मितिबारे छलफल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्ने

 माघ ०६, २०७८

काठमाण्डाै । चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । अस्ति मङ्गलवारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले,पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि आज या भोलिसम्म निर्णय गर्ने सरकारले तयारी गरेको छ । तर वैशाखमा संसदीय र कात्तिकमा स्थानीय चुनाव गर्नेबारे सत्ता गठबन्धनमा नयाँ बहस सुरु भएको छ ।स्थानीय तह निर्वाचन ऐनमा सरकारले दुईभन्दा बढी चरणमा चुनाव गर्न सक्ने तर पहिलो चरणको मितिलाई चुनाव सम्पन्न भएको मानिने उल्लेख छ । यस्तै ऐनमा गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि अर्को चुनाव हुने उल्लेख छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार, जति चरणमा निर्वाचन भए पनि पहिलो चरणको चुनाव भएको ७ दिनपछि कार्यकाल सुरु भएको मानिने भएकाले पालिकाका पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ मा सकिने निर्वाचन आयोगको व्याख्या छ ।२०७४ मा वैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा चुनाव भएको थियो । संविधानले स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल थप्ने परिकल्पना नगरेकाले वैशाखमै चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ । कानुनविद्हरुले स्थानीय चुनाव सार्नु संविधान विपरीत हुने बताउँदै आएका छन् । 

तपाईंको प्रतिक्रिया